काठमाडौं ९ चैत । देशभरका यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चतकालका लागि बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले आज अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द हुने भएको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले एक सुचना जारी गर्दै यसको जानकारी गराएका हुन् ।
‘विभागका सर्भरहरुमा देखिएको विद्युतीय समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ सुचनामा उल्लेख गरिएको छ ।
यातायात कार्यालय बन्दसँगै अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानी लगायतका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।
विभागले यस अघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरिसकेको छ ।