जुम्ला, ८ चैत्त – म्यादी प्रहरी भर्ना खुलेको तीन दिनमै जुम्लामा १२ सय जनाको आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेकाे भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन् ।
आवेदन दिन आउनेकाे संख्या दिनहुँ बढीरहेकाे छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरी भन्छन्, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने हो । तर, यहाँ भर्नाको आह्वान गरेकाे तेस्रो दिनमा १२ सयको दरखास्त परिसक्याे ।’
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका सबै नागरिकले दरखास्त दिन सक्नेछन्। उनले भने, ‘पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइनेछ ।
म्याद ४० दिन मात्रै
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय ,पोसाक र अन्य खर्च गर्नेगरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेकाे प्रहरी निरीक्षक युवन चौधरीले बताए । उनले म्यादी प्रहरीको लागी १३ चैतमा सम्पर्क मिति रहेको छ । यस्तै १५ देखि २२ चैतसम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउन थाल्छ ।
प्रहरी निरीक्षक युवन चौधरीका अनुसार म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्षसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएका छन् । उनले भने, ‘११ चैतसम्म दरखास्त दिने मिति भएकाले करिब दुई हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान छ ।’
कोरोना महामारीका कारण जुम्लामा बेराेजगारी दर बढेकाे छ । गाउँमा रोजगारीका कुनै अवसर नभएपछि म्यादी प्रहरीको लागि निवेदन दिएको चन्दननाथ नगरपालिका- ८ की दुर्गा थापाले बताइन । उनले भनिन्, घर खर्च चलाउन म्यादी प्रहरी हुन आएकी हुँ ।’