काठमाडौं ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा मन्त्री हेरफेरको कुरा चलिरहेको खुलासा गरेका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका उनले अब मन्त्रिपरिषद् हेरफेर हुँदा आफ्नो पार्टीलाई हैसियतअनुसार मन्त्रालय चाहिने स्पष्ट पारेका छन् । साथै यस विषयमा आफुले प्रधानमन्त्री समक्ष पनि कुरा राखिसकेको बताएका छन् ।
औपचारिक ढंगले टुंगो नलागेपनि मन्त्री हेरफेरको विषयमा भने कुरा भइरहेको बताएका छन् । ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको छैन,’ उनले भने ।
चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड जनकपुरधाम पुगेका हुन् ।