पक्की आवास पाएपछि मनमाने भुल खुसी — OSNepal

पक्की आवास पाएपछि मनमाने भुल खुसी

LC (KTM) March 21, 2022 0

भजनी, ७ चैत – टीकापुर नगरपालिका–८ का मनमाने भुल अहिले निकै खुसी हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश सरकारको विशेष अनुदान र टीकापुर नगरपालिकाको समन्वयमा नयाँ पक्की घर पाएपछि मनमाने निकै खुसी हुनुभएको हो । नगरपालिका–८ को जग्गा अतिक्रमण गरी बस्दै आएका उहाँलगायत १५ घरधुरीलाई जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी हस्तान्तरण गरिएको छ । “कयौं वर्ष हामीले घाम पनि नभनी कष्टकर जीवनयापन गरेका थियौँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार हाम्रो लागि भगवान भएर आयो । त्रीपालको हाम्रो बास आज पक्की घरमा हुन थालेको छ ।”

वडा नं ८ कै चन्द्रमाने दमाइँ पनि पक्की घर पाएपछि निकै खुसी हुनुहुन्छ । सरकारले आफुहरुको कुनै लगानी नहुँदा पनि पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि आफुहरुलाई बस्नको लागि निकै सहज भएको उहाँ बताउनुहुन्छ । “हामीले सोचेका पनि थिएनौं, सरकारले हामीलाई घर बनाएर दिन्छ भन्ने कुरा ।”उहाँले भन्नुभयो, “अहिले ऐलानी जग्गामा भए पनि घर निर्माण गरिदिएको छ । परिवार सुरक्षित बस्न पाएका छौं । आफू कामको लागि घर बाहिर हुँदा पनि घरको चिन्ता कम हुने भएको छ ।” उहाँले घर बाहिर गएर कमाइ नगरे साँझ बिहानको चुलो बाल्न निकै कठिन हुने गरेको बताउँदै सडक किनारको बास र बाहिरको कमाइले आफु सधैँ असुरक्षित महसुस गर्दै आएको स्मरणसमेत गर्नुभयो ।

घुमन्तेको जस्तो आफुहरुको जीवन एकाएक स्थानीय सरकारको सहयोगमा परिवर्तन भएको सोही ठाउँका दीपक वादी बताउनुहुन्छ । उहाँले सडकको किनारमा परिवारसहित बस्दा आफुहरुले पाएको दुःख सम्झदा निकै पीडा हुने गरेको बताउनुभयो । “हिउँदमा चिसोको पीडा, गर्मीमा हावाहुरी र लामखुट्टेको पिडा त वर्षातमा बाढी र डुवानको जोखिमले निकै सताउने गरेको थियो”, दीपकले भन्नुभयो, “अब यो वर्षबाट त्यो समस्या आउने छैन । खान र लगाउनको समस्या होला तर बस्नको समस्या सरकारले समाधान गरिदिएको छ ।” उहाँले आफूहरुसँग भएको ऐलानी जग्गाको लालपूर्जासमेत पाएको भए आफूहरु अझै खुसी हुने बताउनुभएको छ ।

विपन्न दलित परिवारका लागि नगरपालिकाको समन्वयमा आर्थिक वर्ष २०७६ ÷७७ मा ७ वटा घर निर्माण भएका थिए भने आर्थिक वर्ष २०७७÷७८ मा ८ घर निर्माण भएका थिए । प्रदेश सरकारको विषेश अनुदानमा निर्माण भएका घर निर्माणको लागि प्रति घर करिब रु ९ लाख खर्च भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताउनुभयो ।

“वडाका ती विपन्न दलित परिवारको अवस्था निकै कष्टकर थियो । वडाको जग्गामा उहाँहरु बस्दै आउनुभएको थियो”, वडा अध्यक्ष ठकुल्लाले भन्नुभयो, “यसलाई हामीले निरन्तरता दिने तयारी गरेका छौँ । पालिकामा भएका अति विपन्न परिवारको व्यवस्थापनका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।” नगरप्रमुख तपेन्द्रबहादुर रावलले आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई राहत हुने गरी जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “आर्थिक रुपमा विपन्न नागरिकलाई यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गर्दै जाने छौँं ।

त्यसका लागि नगरपालिकाले गर्नुपर्ने कामका लागि सधैँ अग्रसर रहने छ”, नगरप्रमुख रावलले भन्नुभयो,“एकैपटक सबैको आवश्यकता पूरा गर्न नगरपालिकाको आर्थिक अवस्थाले पनि भ्याउदैन । आफ्नो स्रोतसाधन अनुसार नागरिकको आवश्यकतालाई पूरा गर्दै लगिने छ ।”नगरप्रमुख रावलले चालु आर्थिक वर्षमा नगरपालिका–६ को पर्सेनीमा जनता आवास कार्यक्रम अन्तर्गत १८ घरको शिलान्यास भएर काम अगाडि बढाइएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर