आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको अपराजित यात्रामा युएईले पुर्ण बिराम लगाई दिएको छ । आज भएको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । चार चौका सहित रोहित अर्धशतक बनाउन बाट ४ रनले चुके । त्यतिमात्र हैन उनी अर्काे कीर्तिमानी बाट समेत चुकेका छन् । उनी नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट चुकेका हुन् । खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो ।
ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । यूएईको जितमा बसिल हमिदले ४ तथा जुनेद सिद्दिकीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए ।
यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १-१ विकेट लिए ।यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ । नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने दोस्रो स्थानमा रहेको छ ।