इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित — OSNepal

इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित

LC (KTM) March 18, 2022 0

काठमाडौँ, ४ चैतः नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । दर्लामीले तीन हजार ९३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ ।

महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत पाउनुभएको छ । उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी हुनुभएको छ ।

एसोसियसनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशबाहेकका छ प्रदेशको एसोसियसनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ । मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनीयर्स एसोसियसन नेपालका गौरी पण्डित अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

एसोसियसनका निर्वाचित अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित हुनुभएको हो । वाग्मती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित हुनुभएको छ ।

यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।

एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर