नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा फेरी अर्काे हार ब्यहोर्नु परेको छ । भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग चार दुई गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । बंगलादेशलाई जित दिलाउन अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र साहदा अख्तर रिपाले एक एक गोल गरिन् ।
नेपालका लागि दिपा शाही र अमिशा कार्कीले एक एक गोल फर्काइन् । खेलको पहिलो मिनेटमै अफिदाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ३० औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई एक एक गोलको बराबरीमा ल्याईन् । ३३ औं मिनेटमा अक्लिमाले गोल गर्दै बंगलादेशलाई दुई एक गोलको अग्रता दिलाईन् ।
खेलको ३४ औं मिनेटमा इटिले गोल गरेपछि बंगलादेश तीन एकले अघि रह्यो । खेलको ४३ औं मिनेटमा साहदाले ग्ल गर्दै बंगलादेशलाई चार एक गोलको अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिशाले एक गोल गरेपनि नेपाल चार दुई गोल अन्तरले पराजित भयो । यस हारसँगै नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।
पहिलो खेलमा नेपाल आयोजक भारतसँग सात शुन्य गोल अन्तरले पराजित भएको थियो। बंगलादेशले भने विजयी सुरुआत गरेको छ । पहिलो खेलमै बंगलादेशले ३ अंक जोडेको छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले तेसो खेलमा मार्चमा २१ मा भारतसँग खेल्नेछ । यस्तै नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।