प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि टेम्के फुटबल क्लब सुनसरीले चुमेको छ । बिहीबार भएको फाइनल खेलमा एपीएफ पकली सुसनरीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो । उपाधिसँगै टेम्केले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता एपीएफ पकलीले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।
दोस्रो हाफको ११ औं मिनेटमा टेम्केका अभिषेक खड्काको क्रसमा रोमन लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिता भरी थप गोल हुन नसक्दा रोमन लिम्बूको गोल नै जितका लागि निर्णायक गोल बन्यो । प्रतिस्पर्धात्मक फाइनल खेलमा गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको १७औं मिनेटमा एपीएफले पाएको फ्रिकिक युवराज खड्काको शक्तिसाली प्रहार टेम्केका गोलरक्षक प्रवीण लिम्बूले उत्कृष्ट बचाउ गरे । ६५ औं मिनेटमा एपीएफका रोमन भुजेलले प्रहार गरेको बल पोष्ट बाहिरिएको थियो ।बिहीबार भएको खेलको प्लेयर अफ दी म्याच टेम्केका रोमन लिम्बू घोषित भए । उनले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टेम्केका प्रवीण लिम्बू घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डर एपीएफका दिवस गिरी, उत्कृष्ट स्टाइकर टेम्केका आकाश राई, उत्कृष्ट कोच टेम्केका जोगिन मरिक घोषित भए । उनीहरुले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका रोमन भुजेल घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।