पछिल्लो २४ घण्टामा कोरोनाबाट ९२ जनाको निधन — OSNepal

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९२ जनाको निधन

LC (KTM) June 07, 2021 0

काठमाडौं । नेपालमा सोमबार कोरोनाबाट ९२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् । गत हप्तादेखि कोरोना संक्रमित भन्दा निको हुने दर बढीरहेका बेला सोमबार पनि संक्रमित भन्दा निको हुनेको संख्या ठूलो देखिएको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि : धनुषामा थपियो निषेधाज्ञा : जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो । यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

सरकारले हालै जारी गरेको कोभिड—१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर