पाल्पा, २ चैत : पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेकमा रु ४८ लाख लागतमा एकतले सुविधासम्पन्न वडा भवन निर्माण भएको छ । भवन निर्माण सम्पन्न भएपछि कार्यसम्पादन तथा सेवा प्रवाहमा सहजता भएको जनाइएको छ ।
यस अगाडि सो वडा कार्यालयले कर्कटपाताको छानामुनि रही तीन कोठा रहेको जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको थियो । तीन कोठामध्ये एक कोठा हुलाकलाई उपलब्ध गराइएको, एक कोठा भण्डारणका लागि छुट्याएको र एक कोठामा कार्यकक्ष रहेको थियो । यसले साँघुरो कोठाबाट जनप्रतिनिधि र पदाधिकारी नागरिकलाई सेवासुविधा प्रवाह गर्दा समस्या उत्पन्न भएको थियो ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले नयाँ भवनले नागरिकका काम छिटोछरितोरूपमा सम्पादन गर्न सहजता ल्याउने ल्याउने जानकारी दिनुभयो । उपाध्यक्ष लक्ष्मी खनालले वर्षायाम तथा हावाहुरीका समयमा जोखिम रहेकाले नयाँ पक्की भवन निर्माण गरिएकोे बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरी नागरिकका कामलाई व्यवस्थित गर्न थालिएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण लामटाङ्गेले मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल गरिएको बताउनुभयो । वडाका सहयोगमा आर्थिक क्रियाकलाप गरी नागरिक आर्थिकरुपमा सम्पन्न हुँदै आएका छन् । रिब्दीकोटको आठ वडामध्ये फेक सबैभन्दा दुर्गम मानिएको वडा हो ।(रासस)