नेपालमा कोरोनाका कारण दीर्घ रोगीहरूको अवस्था बेहाल बन्दै — OSNepal

नेपालमा कोरोनाका कारण दीर्घ रोगीहरूको अवस्था बेहाल बन्दै

LC (KTM) June 07, 2021 0

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण देशभरका अस्पतालले कोभिड बिरामीको उपचारमा ध्यान दिएको र देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले आफूहरूले नियमित स्वास्थ्य सेवा पाउन नसकेको दीर्घ रोगीहरूले बताएका छन्।

खास गरी मधुमेह, उच्च रक्तचाप, मुटु, क्यान्सर र मिर्गौला रोगीहरू प्रत्यक्ष मारमा परेको बताइएको छ।

नियमित रूपमा चिकित्सक भेट्न नपाएका गर्भवती महिलाहरूले पनि निकै सकस बेहोर्नु परेको बताएका छन्।

तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने कुनै पनि अस्पतालमा अन्य रोगीहरूको उपचार सेवा नरोकिएको दाबी गरेका छन्।

‘बेहाल’ अवस्था

कोभिडका कारण स्थानीय तहहरूको समेत प्राथमिकता फेरिएको पाइन्छ

झापाको मेचीनगर नगरपालिकाकी ४५ वर्षिया लीला मोतेले मधुमेहको औषधि खान नपाएको करिब एक महिना भयो।

अहिले आएर उनको मिर्गौला र मुटुमा समस्या देखिएको छ।

त्यो पनि उनको अवस्था थाहा पाएर चिकित्सकका साथमा केही स्वयंसेवी उनको घर पुगेपछि पत्ता लाग्यो।

हाल जारी निषेधाज्ञा र अस्पताल जाँदा कोरोनाभाइरसबाट सङ्क्रमित हुनसक्ने डरका कारण चिकित्सक भेट्न नपाएकी उनले औषधि सेवन गर्न नपाउँदा खुट्टामा अनेक खाले घाउ देखिएको बताउँछिन्।

झापाकै अर्जुनधारा नगरपालिकाकी गर्भवती इच्छा निरौला रिजालले चिकित्सक भेट्न नपाएको धेरै दिन भयो।

कोरोनाभाइरसबारे तपाईँका ११ प्रश्नमा विज्ञको उत्तर
इच्छा भन्छिन्, “अस्पतालबाट कोरोना लिएर आइने हो कि भन्ने डर लाग्छ। साह्रै गाह्रो भएको छ।”

यस्तै दोधारमा अहिले गाउँ/गाउँका गर्भवती महिलाहरू बस्न बाध्य रहेको बताइन्छ।

त्यस्तै झापाको बुद्धशान्ति गाउँपालिका शान्तिनगरकी तुलसा कटुवाल मधुमेह र उच्च रक्तचापबाट ग्रसित छिन्।

बिर्तामोडस्थित अस्पतालमा नियमित जँचाउने गरेकी उनले निषेधाज्ञापछि स्वास्थ्य जाँच गराउन पाएकी छैनन्।

त्यस्तै बुद्धशान्तिकै ५८ वर्षीय खगेश्वर खतिवडा एक वर्ष अघिसम्म नियमित डायलिसिस गराउने गर्थे। चिकित्सककै सल्लाहमा डायलिसिस गर्न बन्द गरिए पनि नियमित जाँचका लागि कहाँ जाने अलमल छ।

उनी भन्छन्, “मिर्गौलाको अवस्था कस्तो छ भन्ने जाँच्न पाइएको छैन। अस्पताल कसरी जानु गाडी चल्दैनन्। फेरि कोरोना सर्ला कि भन्ने डर पनि लाग्छ।”

निषेधाज्ञापछि चिकित्सक भेटेका छैनन्
नियमित स्वास्थ्य जाँच गराएर औषधि सेवन गर्नुपर्ने दीर्घ रोगीहरूले आफूहरूका लागि अहिले निकै अप्ठ्यारो स्थिति रहेको बताउने गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमणको त्राससँगै देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी रहेकाले चिकित्सककहाँ पुग्नका लागि सवारी साधन उपलब्ध छैनन्।

केही स्थानमा स्वयंसेवीहरूले त्यस्ता दीर्घ रोगीका लागि वातावरण सहज बनाउने कसरत गरिरहेका छन्। तर, त्यो सधैँ नहुने बिरामीहरूको भनाइ छ।

कोभिड हुँदा शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने
बुद्धशान्तिकी कटुवाल भन्छिन्, ”पहिला बिर्तामोडको बीएण्डसी अस्पताल गएर जँचाउने गरेको थिएँ। अहिले कसले लगिदिन्छ र ! अहिले यही स्वास्थ्य चौकीमा दिएको औषधि खाँदैछु। खोइ हुने हो कि नहुने हो, थाहा छैन।’

शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख भरत खतिवडाका अनुसार पछिल्लो अवस्थाले दीर्घ रोगीहरूलाई मानसिक रूपमा धेरै असर गरेको छ।

उनी भन्छन्, ”कोभिड महामारीका बेला आफूलाई केही भइदियो भने कहाँ जाने भन्ने कुराले दीर्घ रोगीहरूलाई धेरै सताएको छ।” बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर