काठमाडौं २९ फागुन । वीरगञ्जस्थित एक उद्योगमा सरकारी अनुगमन टोलीले छापा मारेर छ । वीरगञ्ज-१० आदर्शनगरस्थित नेपाल हर्बल इण्डस्ट्रिज उद्योगमा अनुगमन टोलीले छापा मारेको हो ।
उक्त टोलीले म्याद गुज्रिएका कस्मेटिक सामान जफत गरी जलाएर नष्ट समेत गरेको छ । उक्त उद्योगबाट अनुगमन टोलीले ६३ लाख रुपैँयाभन्दा बढी मुल्यको म्याद गुज्रिएका कस्मेटिक सामानहरु नष्ट गरेको छ ।
विशेष सुचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको अनुगमन टोलीले आज आइतबार उक्त उद्योगमा छापा मारेको हो ।
भण्डार गरी राखिएको म्याद गुज्रिएका क्रिम, कपालमा लगाइने जेल, रंग, नङ-पोलिसलगायत ३२ हजार ५ सय ६ थान कस्मेटिक सामान जफत गरी नष्ट गरिएको वाणिज्य आपूर्ति कार्यालयले जनाएको छ । उक्त उद्योगका सञ्चालक विश्वकरण जैन रहेको पाइएको छ ।
बजारमा पठाउनको लागि म्याद गुज्रिएको सामान गोदाममा भण्डार गरी राखेको अवस्थामा अनुगमन टोलीले उक्त सामग्रीहरु जफत गरी नष्ट गरेको हो ।
उद्योगका सञ्चालक जैन आइतबार उद्योगमा नभेटिएकाले उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तव जानकारी दिएका छन् ।