काठमाडौं २९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध हटाउन नेकपा एमालेलाई विशेष आग्रह गरेको छ । आज आइतबार बसेको संसद बैठकमा पनि संसद बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले नारावाजी गरेका थिए ।
आफ्नो माग पुरा नभएको भन्दै एमालेले गत भदौ २३ गते देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
सभामुख सापकोटाले विशेष आग्रह गर्दै विचाराधीन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको बताएका छन् ।
विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताएका उनले संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले आफुलाई पटक पटक ध्यानाकर्षण गराएको जनाएका छन् ।
‘संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु । ‘बैठकमा सभामुख सापकोटाले भने ।