तिलगङ्गा क्षेत्रको वाग्मती नदी सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन — OSNepal

तिलगङ्गा क्षेत्रको वाग्मती नदी सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन

LC (KTM) March 12, 2022 0

काठमाडौँ, २८ फागुन -तिलगङ्गा क्षेत्रको वाग्मती नदी सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६१औँ हप्ता एवं तिलगङ्गा महिला समूहको ३६०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी तीन मेट्रिक टन फोहर निकालिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलगायत भक्तजनका कारण यस क्षेत्रको नदी किनारमा फोहर बढेको थियो ।

तिलगङ्गा आँखा अस्पतालअघिको वाग्मती नदी सफाइ अभियानमा पूर्वमुख्यसचिव लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, तिलगङ्गा महिला समूहका संयोजक आशा पाण्डेलगायत समूह, लायन्स क्लब रेसुङ्गा काठमाडौँको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौँ महानगर्पालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, स्थानीयवासी एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।

वाग्मती नदी सफाइका क्रममा अभियानकर्मी दुर्गा रावलले महिला ब्याग फेला पार्नुभएको थियो । ब्यागभित्र रहेको दुई थान नागरिकता र अन्य कागजात फोन सम्पर्क गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको थियो । वाग्मती सरसफाइ गरिरहँदा पुलमाथिबाट हेरिरहेका सर्लाही र धनुषा जिल्लाका केही व्यक्तिलाई आज सफाइमा सहभागी गराइएको अभियानकर्मी शाहीले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।(रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर