काठमाडौं २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् ।
बिहिबार नवनिर्वार्चित पर्साका जिल्लाका सभापति लगायतका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र प्रदान गर्न पर्सा पुगेका कांग्रेसका सभापति समेत रहेका देउवाले गठवन्धनलाई चुनाव सम्म लैजाने संकेत गरेका हुन् ।
एक्लै चुनावी मैदानमा जाँदा बहुमत ल्यान नसकिने बताएका उनले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने रहेको स्पष्ट पारेका छन् ।
‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो ?,’एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’ देउवाले भने ।
गठवन्धनकै सहयोगमा आफु प्रधानमन्त्री बनेको भन्दै देउवाले गठबन्धनलाई एक साथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि पनि ठिक भएको बताएका छन् ।
गठवन्धनबाटै आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्ने बताएका उनले भने , ’गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं’ ।