काठमाडाैं, २६ फागुन-गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् ।उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।
२००३ देखि एनआरएन अभियानमा होमिएका डा केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । २००९-२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।
त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।
एनआरएनएमा उमेदवारी दर्ताको क्रम बढदै गएको छ ।
त्यस्तै, एसिया प्यासिफिक क्षेत्र अन्तर्गत उपसंयोजक पदका लागि जापानबाट ददिवल खड्काले उमेदवारी दर्ता गराएका छन् । ३० वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका खड्का सफल व्यवसायीको रूपमा हुन् । खडका मोना आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष समेत हुन् ।