प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो । पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुबै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।
उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्टाइकर जनक कोइराला भए । उनले नगद २ हजार ५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहिबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।