काठमाडौं २५ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन गर्ने भएका छन् । आजबाट सुरु भएको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका हुन् ।
प्रतिवेदनमा भनिएको छ, ‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं, कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं, यस्तो स्थिति अब रहिरहनु हुँदैन’।
उक्त प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले संगठन बलियो हुन नसकेको स्वकारोक्ति समेत गरिएको उल्लेख गरिएको छ ।
‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो,यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’
‘गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानुपर्छ,’ नेपालको राजनितिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।