काठमाडौं २३ फागुन । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निवार्चनको लागि निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने भएको छ । आयोगले आज पत्रकार सम्मेलन गर्दै मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय गरेको बताएको हो ।
आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले दिएको जानकारी अनुसार आवश्यक मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिह्न विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाई गर्नेगरी आयोगबाट निर्णय भएको बताइएको छ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने काम जारी रहेको बताएका उनले कसैले झुटो विवरण दिइ नामावालीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिने, एकभन्दा बढी स्थानमा मतदाताको नाम समावेश भएको अवस्थामा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका व्यक्तिका आफन्त तथा नागरिकता त्याग गरेका नागरिकले पनि नाम हटाउन सूचना दिनुपर्ने बताएका छन् ।
‘उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने काम अहिले जारी छ । यसलाई वडा कार्यालय र निर्वाचन कार्यालयको वेवसाइटमा हेर्न सकिन्छ’ पत्रकार सम्मेलनमा उनले भने ।