बर्दियाको गेरुवा गाउँपालिका– ३ मा किसानले लगाइएको बाली जनावरबाट जोगाउन बनाइएको आधुनिक अटुवा । जनावरबाट बाली जोगाउनका लागि आफू पनि सुरक्षित रहन किसानले काठको अटुवा बनाउने गरेको भए पनि समयको परिवर्तनसँगै अटुवा पनि आधुनिक बन्न थालेका हुन् ।
धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श-धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राइद्वारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारले शनिबार विमर्श गरेका हुन् ।
उँभोखोले साहित्यिक समाज खोटाङले आयोजना गरेको कृतिमाथिको विमर्श कार्यक्रममा टेम्केतुवाचुङ साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कवि भोगेन एक्लेले टिप्पणी गर्नुभएको छ । कविता सङ्ग्रहमा समावेश गरिएका शीर्ष कविता कचहरीदेखि कृतिभित्र रहेका विविध २३ वटा फरक–फरक शीर्षकको कविताका बारेमा बोल्दै कवि ऐक्लेले समग्रमा कृति उत्कृष्ट रहेको बताउनुभयो ।
समसामयिक धारमा रहेको कविताभित्र वर्तमान देशको अवस्थाको चित्रणदेखि आफ्नै गाउँठाउँको परिवेशलाई समेटिएको उहाँको भनाइ छ । उहाँले कतिपय कविता क्रान्तिकारी परिवेशले भरिएका भेटिएको र कतिपय कविता प्रेमिल विम्बहरूको सङ्गालोका रूपमा रहेको बताउनुभयो ।
धरान प्रज्ञा परिषद्, धरान उपमहानगरपालिकाद्वारा प्रकाशित पहिलो कृति ‘कचहरी’ मा २३ वटा कविता समेटिएका छन् । प्रा डा गोपाल भण्डारीको प्रमुख सम्पादकत्व र गोपाल देवानको सम्पादनमा प्रकाशित कविता सङ्ग्रह ८४ पृष्ठमा समेटिएको छ ।
कविहरुले जे बोलिन्छ या जे लेखिन्छ त्यसमा इमान्दार हुनुपर्ने बताउँदै कविको ‘हस्तरेखा’ कविताले कविको चेतना उजागर गरेको उहाँको तर्क छ । यस्तै उहाँले सङ्ग्रहमा प्रयोग भएका विम्बहरू दोहोरिनुले अलिक विरसिलोजस्तो लागे पनि यसको मिठास पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले धरान प्रज्ञा प्रतिष्ठानको पहिलो प्रकाशनमै खोटाङे कविको सङ्ग्रह छापिन पाउनु सुखद् रहेको बताउनुभयो । यस्तै जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले कवि राईको कृति उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा लेखनकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कविता सङ्ग्रहका सर्जक कवि धनचन्द्रले आफ्नो रचना प्रकाशनको अवसर प्रदान गरेको धरान प्रज्ञा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्दै कृतिमाथि समीक्षा गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, कवि चित्रकुमार सुवेदी, सुशीला निनाम, अनिला राई, धनिराम राई, दीपेन्द्र दाहाल, प्रमोद श्रेष्ठ, भीम राई, द राजहरि किराँतलगायतले आफ्नो रचना सुनाउनुभएको थियो ।