पछिल्लो समय दौड प्रतियोगिताहरु हुने क्रम बढ्दै गएको छ । स्वास्थ्यका लागि दौड एकदमै राम्रो भएकोले यता तिर सबैको ध्यान जान थालेको हो । यसेक्रममा धरानमा आज १० औं धरान रन नेवा च्यारिटी १० किमी दौड प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगिताको खुला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फको उपाधी एपीएफकी धाविका पुष्पा भण्डारीले जितेकि छिन् ।
विभिन्न उमेर समूह बिभाजन गराई भएको प्रतियोगिताको खुला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढाले १० किमीको दूरी ३१ मिनेट ३ सेकेन्डमा पुरा गरेका थिए । उनले प्रथम भए संगै नगद पुरस्कार स्वरुप ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे । त्यस्तै जुम्लाकै अनिस थापा एक सेकेण्डको अन्तरमा दोश्रो भए । उनले ३१ मिनेट ४ सेकेन्डमा दूरी पार गरी दोस्रो हुँदै नगद ५० हजार रुपैयाँ हात पारे ।
बुढा र थापा दुबै भारतीय गोर्खा सैनिक सेवामा कार्यरत रहेका छन् । यस्तै काठमाडौंका मुकेश पाल तेस्रो भए । उनले निर्धारीत दुरी ३१ मिनेट २० सेकेन्डमा पुरा गरेका थिए उनले ३० हजार नगदसहित प्रमाणपत्र ट्रफी र मेडल प्राप्त गरे । महिलातर्फको उपाधीमा एपीएफको बर्चस्व रह्यो । ९एपीएफ० की धाविका पुष्पा भण्डारीले ३५ मिनेट २६ सेकेन्डमा निर्धारित १० किमी दूरी पार गरिन् भने एपीएफ काठमाडौंकै फूलमति रानाले ३८ मिनेट ४० सेकेन्डमा दूरी पार गरी दोस्रो र काठमाडौंकी हान्ह कारलले ४१ मिनेट १४ सेकण्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन् ।
उनीहरूले पनि क्रमशस् नगद ६० हजार, ५० हजार, ३० हजार सहित प्रमाणपत्र, ट्रफी र मेडल हात पारेका थिए ।यस्तै १६ वर्ष उमेर समूहका प्रशान्त तामाङले ३६ मिनेट १० सेकेन्डमा १० किमी दूरी पार गरी प्रथम भए । महिलातर्फ पेमा तामाङले ५२ मिनेट ५९ सेकेन्डमा दूरी पूरा गरी प्रथम भईन् । , १२ वर्षभन्दा कम उमेर समूहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम भए । सबै उमेर समुहका बिजेताले नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए । दौडमा भेट्रान तथा सुपर भेट्रानहरुको पनि सहभागिता रहेको थियो ।