एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ अन्तर्गत फुटबल खेलाडी विराज महर्जन र भलिबलकी अरुणा शाहीले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १६ औं एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ अन्तर्गत उनीहरुलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो ।
विराज र अरुणाले अवार्डसहित समान एक एक लाख नगद प्राप्त गरे । ट्रायथ्लनका हिमाल टमाटाले पुरुषतर्फ तथा तेक्वान्दोकी पार्वती गुरुङले महिलातर्फको प्रतिभाशाली खेलाडी सम्मान प्राप्त गरेका छन् । हिमाल र पार्वतीले जनही ५० हजार प्राप्त गरे । ब्याडमिन्टनका प्रिन्स दाहालले पुरुष र उसुकी निमा घर्तीमगरले महिलातर्फको उदयमान खेलाडी सम्मान प्राप्त गरे । प्रिन्स र निमाले पनि जनही ५० हजार प्राप्त गरे । एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदंर्श खेल व्यक्तित्व सम्मान प्रदान गरेको छ ।
सम्मानसहित पुष्पराजलाई नगद ३५ हजार प्रदान गरेको छ । कान्तिपुर दैनिकका खेलकुद पत्रकार हिमेश रत्न बर्जाचार्यलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार सम्मानसहित नगद २५ हजार प्रदान गर्यो ।एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन बनेका नेपाली महिला टोलीलाई विशेष सम्मान प्रदान गरेको छ।