उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात — OSNepal

उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात

LC (KTM) June 06, 2021 0

पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध भएको छ । सामाजिक सञ्जालमा उनको राजीनामासमेत माग भएको छ । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुपर्ने माग गरेको छ।

महतोको अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको भन्दै विरोध भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

चौतर्फी विरोधपछि शनिबार मध्यरातमा महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।एमालेको खनाल–नेपालनिकट विद्यार्थीले उपप्रधानमन्त्री महतोको विवादास्पद अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । खनाल–नेपाल पक्षधर अनेरास्ववियुले नयाँ बानेश्वरमा उनको पुतलासमेत दहन गरेको छन्। खनाल–नेपाल निकट १८ जन संगठनले पनि उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको मौनतालाई लिएर प्रश्न उठाएका थिए।

एमाले नेता वामदेव गौतमले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्रीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको बताएका छन्।तर, शनिबार दिउँसोसम्म आफ्नो अभिव्यक्तिको बचाउ गरेका उपप्रधानमन्त्री महतोले मध्यरातमा भने प्रस्टीकरण दिए । महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । उनले आफ्ना असन्तुष्टि रहेको र ती संविधान संशोधनका लागि गठित कार्यदलमा राख्ने पनि बताएका छन्।

शनिबार दिउँसो मन्त्रीहरूको स्वागतमा जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिएका थिए । ‘नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको छ । बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो । बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ,’ महतोको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर