मनोबल बढाउन नगर प्रमुख आयुर्वेद औषधी लिएर कोरोना सङ्क्रमितको घरघरमा — OSNepal

मनोबल बढाउन नगर प्रमुख आयुर्वेद औषधी लिएर कोरोना सङ्क्रमितको घरघरमा

LC (KTM) June 04, 2021 0

लुम्बिनी, २१जेठ- बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्वास्थ्यकर्मी र आयुर्वेद औषधी लिएर कोरोना सङ्क्रमितका घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।आइसोलेशनमा बसेका सङ्क्रमितलाई घरघरमै पुगेर आयुर्वेद औषधी प्रदान गरी मनोबल बढाउने काममा उहाँ लागिरहनु भएको छ । “महामारीलाई जित्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वयमको उच्च मनोबल रहेछ, यसैलाई कसरी बढाउन सकिन्छ भनेर घरदैलोमै पुगेर सान्त्वना दिने काम शुरु गरिएको हो ”उहाँले भन्नुभयो ।

बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनाल, सदस्य सुश्मा अर्यालसहित स्वास्थ्यकर्मीलाई लिएर आज बिहान देवीनगरको चौराली टोलमा घरमा बसेका सङ्क्रमितलाई भेट्दै नगर प्रमुख सुवेदीले मनोबल उच्च राख्न आग्रह गर्नुभयो । स्वास्थ्य समस्या उत्पन्न भएमा तत्कालै सम्पर्क गर्न जनाउँदै उहाँले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसमेतको फोन नम्बर लेखिएको पत्र दिनुभएको थियो ।घरदैलो अभियानमा रहेका उहाँ, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी र स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, कर्मचारी तथा बुटवलका सामाजिक संघसंस्था र निजी क्षेत्रसमेत छन् । सङ्क्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधी वितरण , मनोबल बढाउन स्वास्थ्यलाभको कामना गर्नेकामलाई यहाँका सामाजिक संघसंस्था र नागरिक अगुवाले प्रशांसा गरेका छन् ।

यसको अन्य पालिकाले समेत अनुसरण गरेका छन् । हालसम्म करिब ६ हजार जनाको घरदैलोमा पुगेर आयुर्वेद औषधी प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको नियमित जानकारी लिइएको छ । समुदायमा स्वास्थ्य समस्याको पहिचान र तिनको समाधानका उपायको खोजी, बुटवल र आसपासमा काम गर्न आएका विभिन्न जिल्लाका मजदुरको अवस्थाको सोधीखोजी र उद्दारदेखि राहत वितरणलाई समेत संगसंगै सञ्चालन गरिएको नगरप्रवक्ता रामप्रसाद रेग्मीले जाकारी दिनुभयो । उपमहानगरमा हालसम्म ९ हजार सङ्क्रमित भएको तथ्यांक छ । अधिकांशले सङक्रमण जितेका छन् ।

सङक्रमित भएका, लक्षण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरूको दैनिक निःशुल्क रूपमा परीक्षण भइरहेको उपमहानगरका स्वास्थ्य शाखाबाट परीक्षणको समन्वय गरिरहेकी स्वास्थ्यकर्मी गीता पाण्डेले बताउनुभयो । आयुर्वेद चिकित्सा नेपालको पुरानो र प्रभावकारी उपचार बिधि हो । यसलाई बुटवलले व्यवहारमै उतारेको छ । यहाँ सङ्क्रमित भएका करिब ६ हजारलाई आयुर्वेद औषधी गरिएको छ । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् । जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन सबैले स्वनियममा बस्नुपर्ने र मापदण्ड पालना गर्न आग्रह गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर