हलेसी गुरुयोजना लागू गर्ने क्रममा रोक्का गरिएको जग्गा फुकुवाको माग — OSNepal

हलेसी गुरुयोजना लागू गर्ने क्रममा रोक्का गरिएको जग्गा फुकुवाको माग

LC (KTM) February 16, 2022 0

खोटाङ, ४ फागुन – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीका स्थानीयले हलेसीमा गुरुयोजना लागू गर्नेक्रममा रोक्का गरिएको जग्गा फुकुवाको माग गरेका छन् । हलेसी गुरुयोजना लागू गर्ने क्रममा हलेसी मन्दिर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने निर्णयसँगै रोक्का राखिएको जग्गा फुकुवाको माग गरेका हुन् । मंगलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा निवेदन दिँदै हलेसीका ७८ स्थानीयले रोक्का जग्गा १५ दिनभित्र फुकुवाको माग गरेका छन् ।

व्यक्तिगत जग्गा वर्षौंसम्म किनबेच गर्न, बैंकमा धितो राख्न र घर निर्माण गर्न नमिल्नेगरी रोक्का राखिनुले व्यक्तिको भौतिक सम्पत्ति भोगचलन गर्न पाउने संवैधानिक हक हनन् भएको स्थानीय मनोज गिरीले बताए । ११ र १२ माघ २०७६ मा बसेको हलेसी गुरुयोजना निर्माण समितिको बैठकले हलेसी मन्दिर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने र हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको आधारमा नगरपालिकाले १२ माघ २०७६ मा जग्गा रोक्काका लागि मालपोतलाई पत्राचार गरेको थियो ।

हलेसी मन्दीर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा प्राप्ति गर्ने, सो वापत जग्गाधनीलाई सम्मानजनक मुआव्जा÷क्षतीपूर्ति दिएर खाली गर्ने र गुरुयोजनाले तोकेको संरचना निर्माण गर्ने निर्णय हालसम्म कार्यान्वयन नभएको गिरीले बताए । कुनै पनि प्रकारको मुआव्जा तथा क्षतीपूर्ति उपलब्ध नगराई घर, टहरा र जग्गा रोक्का राखिँदा लाखौंमा जग्गा किनेर बसेका स्थानीय बढी मारमा परेको जनाइएको छ । हलेसी तथा हलेसी आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर बिकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजकत्वको हलेसी गुरुयोजना निर्माण समितिले गुरुयोजनालाई २०७६ माघमा अन्तिम रुप दिएको थियो । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको व्यवस्थित र दिगो बिकास गर्दै पर्यटन विकासका लागि नगरपालिकाको पहलमा २०७५ साल जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । गुरुयोजनालाई अन्तिम रुप दिनका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा ४ माघ २०७५ मा प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर