नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी — OSNepal

नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि समस्यामा थलारावासी

LC (KTM) February 11, 2022 0

बझाङको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत मङ्सिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पु¥याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउनुहुन्थ्यो ।

उहाँ मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन् । रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका¬—१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पु¥याउन कठिन भइरहेको बताइएको छ ।

केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताउनुभयो । त्यही काठे पुल पनि जोखिममा रहेको छ । सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ । अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ ।

बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन् । झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ । यसका साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर