गण्डकी, २३ माघ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गर्नुभयो ।
दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी सङ्गठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उहाँले यसको उपयोग गर्न नसकिएको बताउनुभयो । गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिनुभयो । एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उहाँको भनाइ छ ।
सङ्घीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सङ्गठन मजबुद बनाउने गरी लाग्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार मौलाउँदा त्यसले देश, लोकतन्त्र सबैलाई नकारात्मक असर पारिरहेको बताउनुभयो । भ्रष्टाचारमुक्त राष्ट्र बनाउनेतर्फ लाग्नु आवश्यक भएको उहाँले बताउनुभयो । संसद् र न्यायालय अनिर्णयको बन्दी बन्न नहुने उहाँको भनाइ छ । इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारीलाई ठीक ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले वर्तमानमा आएको जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो ।
यसअघि अधिवेशनमा भएका गुटउपगुट अब नरहेको उल्लेख गर्दै गुरुङले एकताबद्धरुपमा आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी सबै मिलेर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले एमसिसी जस्ता विषयमा नेताको फरकफरक विचारभन्दा पनि संस्थागतरुपमा निर्णय गरी अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका सहमहामन्त्री जीवन परियारले पार्टीले आफ्नो विधानअनुसार सबै प्रदेशमा निर्वाचन सम्पन्न गरी नेतृत्व चयन गरेको जनाउँदै कार्यालय सञ्चालन गरी संस्थागतरुपमा सङ्गठनका गतिविधि बढाउन खोजेकामा गण्डकी प्रदेश कार्यसमितिलाई धन्न्यवाद व्यक्त गर्नुभयो ।
आगामी दिनमा पार्टीले केन्द्रदेखि वडा तहसम्म नीति अनुसन्धान तथा प्रशिक्षणका कामलाई संस्थागतरुपमा अघि बढाउने उहाँले बताउनुभयो । पार्टीका प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्माले कार्यालय स्थापना गरी सङ्गठनका गतिविधिलाई संस्थागतरुपमा अघि बढाउन खोजिएको जनाउँदै सबैको साथ र सहयोगमा प्रदेशमा पार्टी सङ्गठनलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा रेवतीरमण सुवेदीले लेख्नुभएको ‘शहीद क्याप्टेन यज्ञबहादुर थापा’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेता अर्जुनप्रसाद जोशी, वाग्लुङ जिल्ला सभापति जीत शेरचन, प्रदेश कार्यसमितिका महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, उपसभापति कल्पना तिवारी, पुस्तकका लेखक रेवतीरमण सुवेदी, समीक्षक डा वासुदेव भण्डारीलगायतले बोल्नुभएको थियो । (रासस)