बैतडी, २० माघ -सुदूरपश्चिम प्रदेशमा बिहीबार थप १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३१९ जनाको नमूना परीक्षण गर्दा १७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत १९ र एन्टिजेनमार्फत १५३ जनामा पुष्टि भएको हो । गएको २४ घण्टामा प्रदेशभर २२४ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ का ७४ वर्षीया महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसअघि बुधबार यस प्रदेशमा २०३ जनामा सङ्क्रमण पुष्टि हुँदा ५३ निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ ।