स्वास्थ्यकर्मीमा कोरोना लागेपछि बन्द रहेका स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु — OSNepal

स्वास्थ्यकर्मीमा कोरोना लागेपछि बन्द रहेका स्वास्थ्यकेन्द्रका सेवा ११ दिनपछि सुचारु

LC (KTM) February 03, 2022 0

बैतडी, २० माघ -स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि बन्द रहेका बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सबै सेवा आजदेखि सुचारु भएका छन् । स्वास्थ्य केन्द्रले चारजना स्वास्थ्यकर्मीमा कोरोना भाइर सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको थियो । सङ्क्रमित सबै स्वास्थ्यकर्मी सङ्क्रमणमुक्त भएर काममा फर्किएपछि सेवा सुचारु भएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनुभयो । जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका सेवा बन्द हुँदा स्थानीयवासीलाई असहज भएको थियो ।

सेवा सुचारु भएपछि स्थानीयवासीलाई सेवा लिन सहज भएको छ । कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । बैतडीमा अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसिरहेकाले समुदायमै कोरोना फैलिसकेको छ । तर स्थानीय तहले कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि प्रयास नगरेको गुनासो आउन थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण १९ जनाको मृत्यु भइसकेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर