व्यापारीले आफूखुशी मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु — OSNepal

व्यापारीले आफूखुशी मूल्य बढाएपछि प्रशासनको अनुगमन शुरु

LC (KTM) June 03, 2021 0

डोटी, २० जेठ- कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगम शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ ।

अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारी तथा वाणिज्य सङ्घका पदाधिकारीसमेत सहभागी भएका छन् । जिल्लामा निषेधज्ञाको समयमा व्यापारीले आफूखुशी मूल्य लिन थालेको पटक–पटक गुनासो आएपछि प्रशासनले बल्ल अनुगमन शुरु गरेको हो ।

उक्त अनुगमन समितिले सरकारी दरअनुसारको बजार मूल्यमा एकरुपता भए÷नभएको विषयमा जानकारी लिनाका साथै उपभोग्य मिति भए÷नभएको बारेमा समेत जानकारी लिन थालेको छ । अनुगमनका क्रममा बजारमा म्याद सकिएको अवस्थामा भेटिएका नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तिल, मेथी, बिस्कुटलगायतका खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

म्याद सकिएका अखाद्य वस्तु बिक्री वितरण गर्ने तथा तोकिएभन्दा बढी रकम उपभोक्ताबाट लिएको पाइएमा तत्काल कारवाही गरिने योजनाअनुसार जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा पसल, फर्म दर्ता, इजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नापतौललगायतको समेत निरीक्षण गर्न थालिएको छ । अनुगमन समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गरी सामान बेच्ने गरेको प्रमाणसहित गुनासो वा उजुरी आए तत्काल कारवाहीका लागि सिफारिश गरिने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर