जेठ ४ मा निर्वाचन सम्पन्न गर्न तयार छौं : निर्वाचन आयोग — OSNepal

जेठ ४ मा निर्वाचन सम्पन्न गर्न तयार छौं : निर्वाचन आयोग

LC (KTM) February 01, 2022 0

काठमाडौं, १८ माघ-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न तयार रहेको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक हुने उल्लेख गरिएको छ । आयोगले कोभिड-१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल गरेको छ ।प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति आयोगसँगको परामर्शमा नै तोकिने जानकारी दिएको समेत विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवाले गृह मन्त्रालयलाई आवश्यक सुरक्षा व्यवस्थाको बन्दोबस्त गर्न पनि निर्देशन दिइसकेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनबारे परामर्श गर्न आयोगका पदाधिकारी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

सो क्रममा आयोगका पदाधिकारीहरूले आउँदो स्थानीय तहको निर्वाचनका लागि लाग्ने अनुमानित खर्चबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन्। छलफलमा आयोग पदाधिकारीले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका छन् ।छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर