मुख्यमन्त्रीद्वारा झापाको निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण — OSNepal

मुख्यमन्त्रीद्वारा झापाको निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण

LC (KTM) January 31, 2022 0

झापा, १७ माघ-मेचीनगर नगरपालिका–१४ मा एक हजार क्षमताको निर्माणधीन होल्डिङ सेन्टरको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपश्चात् तत्काल निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्दै यसको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । मेचीनगर नगरपालिकाकी उपप्रमख मीना पोखरेल उप्रेती र श्रीनाथ नयाँ गण चारआलीका गणपति अमरजङ्ग थापाबाट उहाँले सेन्टरबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य सचिव, प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतको उपस्थिति रहेको थियो । निर्माण भएका सबै संरचना नगरकै सम्पत्ति हुने भएकाले होल्डिङ सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । वडा कार्यालयले संरक्षण गरेको ११ बिघा जग्गामध्ये चार बिघा जग्गा नगरपालिकाले होल्डिङ सेन्टर निर्माण भइरहेको छ ।

करिब रु २८ करोड २६ लाख ८७ हजार ४६४ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । श्री २१ नं वाहिनी अड्डा तोपगाछी ब्यारेक झापा र श्रीनाथ अनयाँ गण चारआलीले यसको रेखदेख गरिरहेको छ ।आधुनिक र सुविधासम्पन्न होल्डिङ सेन्टरमा सङ्क्रमितहरुलाई चाहिने चिकित्सकीय उपकरणसहितको टोली तथा अक्सिजनसहितको शय्या उपलब्ध हुने बताइएको छ । भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन समेतलाई उपचारका लागि होल्डिङ सेन्टरमा राखिनेछ । होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच, खानपान र नियमित शारीरिक अभ्यास हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर