४० वर्ष सम्म भारतीय जेलमा परेका छोरा कुरेर बसेकी ८७ वर्षकी धनमायाले संसार छोडिन् — OSNepal

४० वर्ष सम्म भारतीय जेलमा परेका छोरा कुरेर बसेकी ८७ वर्षकी धनमायाले संसार छोडिन्

LC (KTM) January 31, 2022 0

मङ्गलबारे, १७ माघ -भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । चालीस वर्ष विदेशी भूमिमा जेल जीवन बिताएर निर्दोष सावित भएका दुर्गाप्रसादकी आमा धनमायाको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

दुर्गाप्रसादका नाति गोपाल तिम्सिनाका अनुसार इलाम माई नगरपालिका लुम्बाकस्थित घरमै उहाँको निधन भएको हो । केही दिनदेखि उहाँका हातगोडा सुन्निएर समस्या भएको थियो । दुर्गाप्रसाद विराटनगरमा बस्दै आउनुभएको थियो । उहाँलाई लिन गएकै बेला आमा धनमायाको मृत्यु भएको नाति गोपालले बताउनुभयो ।

जेलजीवन बिताएका दुर्गाप्रसाद गोपालका ठूलोबुबा हुनुहुन्छ । कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर गत वर्ष मात्र घर आउनुभएका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन नसकेकै कारण विराटनगर बस्दै आउनुभएको बताइएको छ । चार दशक जेलमा बिताएकाले पनि उहाँलाई गाउँमा बस्न समस्या भएको बताइएको छ । उहाँ हाल विराटनगरस्थित मानवसेवा आश्रममा बस्दै आउनुभएको थियो । दुर्गाप्रसाद र धनमायाको चार दशकपछि भेट भएको एक वर्ष बित्न नपाउँदै आमाको निधन भएको हो । दुर्गाप्रसाद धनमायाका जेठा छोरा हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर