एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने — OSNepal

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

LC (KTM) January 30, 2022 0

बाह्रखरी मिडियाको आयोजनामा फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए ।

उनले धरानमा आएर बाह्रखरीले गल्फ आयोजना गर्नु नै गौरवको कुरा भएको जानकारी गराउँदै भने,“उद्योग संगठनसँगै मिलेर जसरी इकोनोमिक समीट आयोजना गरिएको छ । त्यसले यो क्षेत्रकै लागि सहयोग पुग्नेछ । हामी सबैको मेहनतले गर्दा बाह्रखरीले हामीलाई विश्वास गर्नुभयो । उद्योग संगठनमा आर्थिक सम्मेलन गर्नेछौँ । हामीले प्रदेशभरका निजी क्षेत्रका मुद्दा उठान गर्नेछौँ ।

सोमबारदेखि राउन्ड टेबल आयोजना गर्नेछौँ । त्यसलाई लिपिबद्ध गरेर समीटमा प्रस्तुत गर्नेछौँ । सरकारले गफमात्रै नभएर नीतिमा सहयोग पुग्नेगरी अघि बढ्नेछौँ ।” पूर्व अर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए । त्यसैगरी युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले यस क्षेत्र उद्यमीको केन्द्र रहेको बताउँदै यो कार्यक्रम समृद्धिको इन्जिन भएको बताए ।व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए ।

उनले धेरैलाई अनौठो लाग्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । “बाह्रखरीले सगरमाथाको काखमा गल्फ आयोजना गर्ने भन्दा हामीलाई अनौठो लागेको थियो । यो कार्यक्रम गर्नु नै ठूलो सफलता हो । एउटा न्युज मिडियाले आफ्नो कामबाहेक खेललाई आधार बनाएर एउटा प्रदेशको समृद्धिमा टेवा पु¥याउनका लागि गरेको सहयोगको जति प्रशंसा गरे पनि पुग्दैन,” उनले भने । गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए । उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै यसको आकर्षक भनेकै गोल्डेन बल पाउँछ । यो संसारमा कहिँ पनि राखेको पाइँदैन । त्यसका लागि बाह्रखरी मिडियालाई धन्यवाद दिन चाहन्छु ।

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर