काठमाडौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ को फैसला आदेशले सात वर्ष कैद सजाय सुनाएको थियो ।
त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले रु ५०० जरिवानाको फैसला गरेको थियो । तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।