आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ — OSNepal

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

LC (KTM) January 28, 2022 0

कास्की, १४ माघ -मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन । आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ । शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

नेपाल पुलिस क्लबसँग समान छ÷छ पटक उपाधि जितेको मनाङलाई २०औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ । एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ । मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ ।

एपीएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २–० ले निरास बनाउँदै अघि बढेको थियो । क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चुनौती ३–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३–१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।

मनाङले भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो । आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिनुभएको छ ।

फाइनल खेलअघि आज आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गर्नुभयो । मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“फाइनल पुग्दा हामी खुसी छौँ । अब उपाधि जितेर टिम र समर्थकलाई थप खुःशी दिन चाहन्छौँ ।”प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहनुभएन ।

एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ । यस अवसरको उपयोग गर्दै उपाधि चुमेर इतिहास रच्ने योजनामा छौँ ।” मनाङका टिम कप्तान विमल रानाले दबाब रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताउनुभयो । टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भए पनि फाइनलमा राम्रो खेल्ने उहाँले बताउनुभयो ।

एपीएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गर्नुभयो । फाइनलमा स्थान बनाएको एपीएफका महत्वपूर्ण चार खेलाडीले फाइनल खेल गुमाउने भएका छन् । टोलीका चार खेलाडीले यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएकाले फाइनल गुमाउने आयोजकले जनाएको छ ।

एपीएफका आवास लामिछाने, प्रदीप लामा, अदमा डोम्बिया र सविन थापाले दोहोरो पँहेलो कार्डका फाइनल खेलका लागि प्रतिबन्धमा परेको म्याच कमिसनर गोकुल थापाले बताउनुभयो । सेमिफाइनलमा मच्छिन्द्रसँगको खेलमा एपीएफका चार खेलाडीले पहँेलो कार्ड पाएका थिए ।

एपीएफका प्रशिक्षक थापाले भने आयोजकको सो निर्णयप्रति असन्तुष्टि जनाउनुभयो । खेलाडी प्रतिवन्धमा परेको बारेमा जानकारी नपाएको तथा प्रतियोगिता निर्देशिकामा समेत फरक÷फरक खेलमा पाएको कार्डले अर्को खेल गुमाउने भन्नेमा उल्लेख नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रा खेलाडी प्रतिबन्धमा परेको बारेमा केही जानकारी छैन । फरक खेलको कार्डले फाइनल गुमाउने भन्नेमा प्रतियोगिता निर्देशिकामा उल्लेख छैन । हाम्रो पुरानै सेट भोलि मैदानमा उतार्ने छौँ ।”

यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर