कोरोना महामारीलाई केही होइन भन्दै निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा — OSNepal

कोरोना महामारीलाई केही होइन भन्दै निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

LC (KTM) June 02, 2021 0

काठमाडौं, १९ जेठ- विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ९५ वटा गाडी र २ हजार १ सय ७९ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९५ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ३ सय ८९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित ८४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ४९ जनालाई सचेत गराइएको छ ।निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर