प्रधानमन्त्री देउवा भन्छन्, पहिला खोप खोप भन्थे अहिले खोप लगाउने मान्छे छैन — OSNepal

प्रधानमन्त्री देउवा भन्छन्, पहिला खोप खोप भन्थे अहिले खोप लगाउने मान्छे छैन

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाउने मान्छे नभएको बताएका छन् ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले खोप खोप भने पनि पहिले खोप लगाउने मान्छे नभएको बताएका हुन् ।

‘अहिले कोरोना भाइरसले पनि हैरान गरेको छ देशलाई। अत्यन्त डरलाग्दो स्थिति छ। नयाँ–नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरू। मैले भनेकै हो, खोप खोप खोप भनें। खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ। अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरूलाई। हामी अब जसरी भए पनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ। यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ।’ उनले भने ।

कोेरोनाले मुलुकलाई आक्रान्त पारेको बताएका देउवाले सबै नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न समेत आग्रह गरेका हुन् । साथै कुराकानीमा देउवाले मल कारखाना स्थापना गर्नमा पनि सरकारले सहयोग गर्ने बताएका छन् ।

उनले भने, ‘कतिपय सरकारलाई प्रायोरेटिजहरू हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस्। यस्ता कति कुराहरूमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईंहरूलाई त्यो सहयोग दिन हामी तयार छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर