स्थानीय तहको निर्वाचन सारियो भने नेपाली कांग्रेस दुर्घटनामा पर्न सक्छ : शेखर कोइराला — OSNepal

स्थानीय तहको निर्वाचन सारियो भने नेपाली कांग्रेस दुर्घटनामा पर्न सक्छ : शेखर कोइराला

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पाँच सत्ता गठवन्धन दलहरुका नेताहरुले पार्टी सभापति समेत रहेका शेरबहादुर देउवालाई ट्रयापमा पार्न खोजेको आरोप लगाएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा सहभागी भएका नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

देउवालाई लक्षित गर्दै उनले भनेका छन् , ‘कांग्रेसकै केही नेताहरु र गठबन्धनका नेताहरुले शेरबहादुरजीलाई ट्रयापमा पार्न खोज्दै हुनुहुन्छ । जालोमा फसेपछि गाह्रो हुन्छ नि। २०५९ सालमा उहाँ प्रधानमन्त्री रहेका बेला स्थानीय निर्वाचन गर्न नसक्दा राजा ज्ञानेन्द्रबाट कू मात्र भएन, १८ वर्षसम्म जनप्रतिनिधित्व नै हुन सकेन । सबैभन्दा पीडा त शेरबहादुरजीलाई होला । त्यति बुझ्नुभयो भने उहाँले वैशाखमै चुनाव गर्नुहुन्छ ।’

स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्चले लोकतन्त्र नै धरापमा पर्न सक्ने खतरा रहेको बताएका उनले दफामा त्रुटि देखाएर सत्ता गठवन्धनका नेताहरुले निर्वाचन सार्ने कुरा विषयमा छलफल गरेको बताएका छन् ।

‘वैशाखमा चुनाव गर्दा गठबन्धन संकटमा पर्छ भनेर लोकतन्त्रलाई संकट पार्न मिल्छ ? हामीले गठबन्धन जोगाउने कि लोकतन्त्र जोगाउने रु स्थानीय तहको निर्वाचन सारियो भने लोकतन्त्रको हत्या हुन सक्छ, मुलुकमा संकट आउन सक्छ, नेपाली कांग्रेस दुर्घटनामा पर्न सक्छ। लोकतन्त्र समाप्त गर्ने खेल नहोस् ।’ उनले प्रश्न गरेका छन् ।

स्थानीय तहको निर्वाचनबाट राजनीतिक दलहरु नै डराउनु हास्यास्पद भएको भन्दै आलोचना गरेका उनले अघि भनेका छन् , ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । दलहरु नै निर्वाचनबाट डराउनु लोकतन्त्रको दुर्भाग्य हो । कसले जित्छ वा कसले हार्छ भन्दा पनि लोकतन्त्रले जित्छ कि जित्दैन ? त्यो प्रमुख कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर