देशमा बढिरहेको कोरोना संक्रमणका कारण यतिबेला नेपाली कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय रहेका छन् । धेरैले सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक पहल नथालेको भन्दै असन्तुष्टि जनाउने गरेका छन् ।
केही समय अघि महानायकले बेलायतको संसदमा नेपालको कोरोनाको बारेमा छलफल हुने तर नेपालको सांसदमा किन नहुने भन्दै प्रश्न गरेका थिए । त्यस्तै गर्भवती अवस्थामा रहेकी नायिका प्रियंका कार्कीले पनि कोरोनाका बारेमा स्टाटस नै पोष्ट गरिन् । नायक पल शा भने सहयोगमा जुटिरहेका छन् ।
त्यस्तै अर्का जिवन्त अभिनयका खानी कलाकार खगेन्द्र लामिछानेले भने फरक मुद्धा उठाएका छन् । उनले सरकारले बजेटमार्फत लिएको चुरेको ढुंगा,गिट्टी र बालुवा निर्यात गर्ने नीतिको विरोध गरेका छन् । नायक लामिछानेले चुरे र मधेसलाई बिनास हुनबाट रोक्नुपर्ने बताएका छन् ।
“चुरेबाट ढुङ्गा गिट्टी निकालेपछि तराई मधेसलाई झनै राम्रो हुन्छ भन्ने नेताको तर्क पनि पढियो । यस्ता मुर्खहरुलाई भोट दिएर त्यही विनासलीलाको नाइके हामीले बनाएको हो । त्यसैले हामी महामुर्ख हौं । आफ्नो महामुर्खतालाई एकपटक ऐनामा हेरौँ”, उनले ट्वीटरमा लेखेका छन् ।