मुम्बई । चलचित्र सेलेब्रिटीका लागि सामाजिक सञ्जाल आफ्ना प्रशंसकसँग जोडिँदै पैसा कमाउने माध्यम पनि बनेको छ । खासगरी इन्स्टामा सामानको प्रवद्र्धन गरेवापत उनीहरुले राम्रो आम्दानी गरेका छन् ।
यसमा खासगरी बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अभिनेत्री प्रियंका चोपडा, आलिया भट्ट लगायतका थुप्रैले इन्स्टाको पेड पोस्टमार्फत राम्रो कमाईए गरिरहेका छन् । अभिनेता अमिताभलाई इन्स्टामा २ करोड ६० लाखभन्दा बढीले पछ्याउँछन् । उनले इन्स्टामा एउटा पोस्ट गरेवापत् ५० लाखसम्म लिने गरेका छन् ।अर्का अभिनेता शाहरुखलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या पनि उल्लेख्य छ ।
हुनत् पछिल्लो समय उनको करिअर त्यत्ति राम्रो चलिरहेको छैन । तैपनि उनले एउटा पोस्टको ८० लाखदेखि १ करोड भारुसम्म लिने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभिनेता शाहरुखझैं अभिनेत्री आलिया भट्टले पनि एउटा पोस्टको ८० लाख भारुदेखि १ करोडसम्म लिने गरेकी छन् ।सौर्य दैनिकमा खबर छ ।
भारतीय कलाकारमा इन्स्टाबाट कमाउने मामलामा अमिताभ र शाहरुखभन्दा अभिनेत्री प्रियंका चोपडा अगाडि छन् । उनलाई ६ करोड ३८ लाखभन्दा बढी प्रशंसकले पछ्याउने गरेका छन् । उनले भने एउटा पोस्टवापत् २ करोड लिने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभिनेत्री प्रियंका ग्लोबल स्टार बन्ने बाटोमा रहेकाले पनि उनलाई महँगो रकम तिर्ने गरिएको छ ।