ब्रसेल्स, २८ पुस- कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ ।
लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएकाे हो ।
यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेकाे छ । युराेपपछि अहिले अमेरिकामा संक्रमितकाे संख्या तीव्र बढेकाे छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।
ओमोक्रन भेरियन्टको फैलावटसँगै कोरोना ’प्यान्डेमिक’ (महामारी) बाट ’इन्डेमिक’ (निश्चित क्षेत्रमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको पनि मेडिकल निकायले जनाएको छ।