चुरे दोहनको ‘लाइसेन्स’ बाड्ने तयारीमा सरकार, बजेटमा गरियो व्यवस्था — OSNepal

चुरे दोहनको ‘लाइसेन्स’ बाड्ने तयारीमा सरकार, बजेटमा गरियो व्यवस्था

LC (KTM) June 01, 2021 0

चुरे संरक्षण अभियानलाई कडाइका साथ पालना गराउनुपर्नेमा सरकारले बजेट भाषणमार्फत त्यसैलाई सिध्याउनेगरी ढुंगा, गिट्टी, बालुवाको ‘निकासी’ खुला गर्ने घोषणा गरेको छ।सरकारको यस कदमलाई पर्यावरण अभियन्ताहरूले ‘चोर बाटो’ बाट चुरे दोहनको लाइसेन्स दिन खोजेको टिप्पणी गरेका खबर आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन्।

सरोकारवालाहरूले माफियाहरूको दबाबमा सरकारले घुँडा टेकेको प्रतिक्रिया दिएका छन्। शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने बताए।‘सरकारको यस कदमले मरुभूमि उन्मुख मधेसलाई झनै मरुभूमीकरणमा परिणत गराउने निश्चित छ,’ नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले भने, ‘अहिलेसम्मको दोहनले मधेसलाई खाद्य संकट उन्मुख बनाइसक्यो, झन् निकासीको लाइसेन्स नै दिए मधेस डुब्न बेर लाग्दैन।’

नदीको सतह दिनदिनै माथि उठ्दै छ। पानीको तह तलतल जाँदैछ। हरियो अन्न उब्जिने खेत बालुवाले सेताम्य बनेको छ। पर्यावरणप्रेमी नेता यादवले भने, ‘चुरे संरक्षणमुखी पहाड हो, सरकारले यसलाई दोहनमुखी बनाउँदैछ। चुरे मूल भएका खोला नदी सबै मधेस भएर बग्छन्,’ उनले भने, ‘माथि चुरेमा हलचल मच्चाउँदा दुष्परिणाम मधेसमा देखिन्छ।’ सरकारले जानाजान ल्याएको मधेसमारा योजना तुरुन्त फिर्ता लिनुपर्ने उनको माग छ।पर्यावरणप्रेमी एवं जनता समाजवादी पार्टी (जसनपा) संसदीय दलका उपनेता रामआशिष यादवले सरकारको यो बजेट नै असंवैधानिक भएको बताए। ‘समग्रमा बजेट भाषण नै असंवैधानिक हो,’ उनले भने, ‘लोकप्रियता बटुलेर भोट पाउने रणनीतिका साथ ल्याएको यो बजेटका धेरै बुँदा मधेस डुबाउने गरी ल्याइएका छन्। जसमध्ये एक हो– ढुंगा, गिट्टी, बालुवाको निकासी खोल्ने १९९ नम्बरको कालो बुँदा।’

सरकारले यसलाई अविलम्ब हटाउनुपर्ने माग उनले राखे। मधेस मात्र नभई देश डुबाउने, बर्बाद पार्ने योजनाको सबै नागरिकले विरोध गर्नुपर्ने उनले बताए। ‘पर्यावरण केवल मधेसको मात्र जीवनरेखा होइन, देशकै हो,’ उनले भने, ‘जीवनरेखा मेट्ने सरकारको षड्यन्त्रलाई सबै मिलेर विफल बनाउनुपर्छ।’नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले सरकारले बजेट भाषणमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निकासी खोल्ने योजना मधेसको मात्र नभई देशकै जीवनरेखा मेट्न ल्याएको बताए। ‘चुरे संरक्षणमा सरकारको बजेट र ध्यान केन्द्रित हुनुपर्नेमा यस क्षेत्रको खनिज पदार्थ उत्खन्न गरी निकासी गर्ने कार्य विडम्बनापूर्ण हो,’ उनले भने, ‘नदीजन्य पदार्थ उत्खननका नाममा चुरे संरक्षित क्षेत्रमा अनियन्त्रित दोहन रोकिएको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर