उज्ज्वल अभियन्ताको स्वास्थ्य लाभको कामना गर्दै सिंगो देश — OSNepal

उज्ज्वल अभियन्ताको स्वास्थ्य लाभको कामना गर्दै सिंगो देश

LC (KTM) June 01, 2021 0

काठमाडौं । नागरिक जागरणका प्रतीक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको स्वास्थ्यलाई लिएर देश–विदेशबाट नेपाली समुदायले असाधारण सद्भाव देखाएको छ । विगत केही दिनदेखि सामाजिक सञ्जालमा उनको स्वास्थ्यलाभको कामना गर्दै हरेकदिन सयौँ ‘पोस्ट’ आइरहेका छन् । कलाकार, राजनीतिज्ञ, साहित्यकारदेखि धेरैले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उपचारका लागि सहयोग गर्नेहरूको पनि कमी छैन । स्वतस्फुर्त रूपमा थापाको स्वास्थ्य उपचारका लागि देश–विदेशबाट आर्थिक सहयोग पनि जुटेको छ । अत्याधुनिक प्रविधिबाट उपचार गराउनुपर्ने देखिएपछि परिवारको सहमतिमा आर्थिक सहयोग जुटाउने अभियान चलाइएको थियो ।

युवापुस्ता उनीबाट बढी प्रभावित देखिन्छन् । असहमतिका मुद्दाको विरोधमा तोडफोड र नारा–जुलुसको परम्परालाई तोड्दै उनले विरोधको नयाँ शैली निकालेका थिए । जसले समाजका बौद्धिक वर्ग र युवायुवतीलाई आकर्षित गरेको थियो । त्यही कुरा अहिले उनको स्वास्थ्यलाई लिएर चासोमा व्यक्त भएको छ ।

उनी प्लेकार्ड बोकेर आन्दोलनमा उत्रे । समाजका बेथितिमाथि प्रश्न गरे । सत्तालाई हरेक दिन खबरदारी गरे । तर, शान्तिपूर्ण तरिकाले, छातीमा प्लेकार्ड टाँसेर, सडकछेउमा उभिएर । आन्दोलनमा उनी ढुंगामुढा गर्न तम्सिएनन् । कुटपिट गर्न अघि सरेनन् । सडक बन्द गर्न गएनन् । बन्दको विरोध गर्न ०६८ सालतिर उनले ‘नेपाल खुला छ’ भन्ने अभियान चलाए । पछिसम्म पनि उनी बन्दको दिनमा ‘नेपाल खुला छ’ भन्दै सडकमा उत्रिएको देखिन्थ्यो । उनको यही शैलीले हो, अहिले स्वास्थ्यलाभको देशविदेशबाट भएको कामना ।

पहिलो संविधानसभा विघटन हुनुपूर्व उनले धेरैको ध्यान खिचे । विभिन्न माग राख्दै सडकमा आन्दोलन भइरहेको समयमा उनलाई आन्दोलनकारीकै रूपमा मानिसले फरक ढंगले देख्ने मौका पाए । त्यतिवेला उनी र उनका साथीभाइ सडककिनारामा उभिएर सभासद्हरूसँग संविधान माग्थे । ‘ज्याला पूरा लियौ, अब संविधान देऊ १’ जस्ता नारा लेखिएको प्लेकार्ड उनको छातीमा टाँसिएको हुन्थ्यो ।
नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर