बागलुङ, १८ पुस-बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव छ ।खानेपानी व्यवस्थापनका लागि बर्सेनी बजेट छुट्टिने गरे पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएपछि विद्यार्थीहरूले घरबाटै बोतलमा पानी बोक्न बाध्य छन् ।
पानी नहुँदा विद्यालय परिवारलाई नियमित सरसफाइ तथा शौचमा समेत समस्या हुने गरेको छ । विद्यालयमा पानीको निकै समस्या छ । केही नजिकको साथीहरू हुनुहुन्छ, कोही भने धेरै टाढाको पनि हुनुहुन्छ । ‘विद्यालयको धारामा पानी नै आउँदैन, पानी आयो भने पनि फोहोर हुन्छ’, कक्षा १० मा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भने, ‘टाढाटाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुल ब्याकुल परिन्छ ।’
रजस्वलाको समयमा छात्राहरू विद्यालयमा जानै मान्दैनन् । शौचालय प्रयोग गर्न विद्यार्थीले विद्यालय नजिकका घरबाट पानी माग्ने गरेका विद्यार्थीको गुनासो छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘विद्यार्थीले घरबाटै पानी ल्याउँछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’
खानेपानीको चरम समस्या भएपछि विद्यार्थी संख्या पनि कमी हुँदै गएको छ । विद्यालयलाई पायक पर्ने स्थानमा मुहानसमेत छैन । हाल विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किलोमिटर टाढा छ । बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्दछ । सो कारण विद्यार्थीले उक्त पानी प्रयोग गर्न सक्दैनन् ।
प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहका लागि एक र माध्यामिक तहको लागि एक धारा रहे पनि विभिन्न समयमा निर्माण भएका बाटोका कारण विद्यालयसम्म पानी आउन नसकेको हो । ‘मुस्किलले एक सय लिटर पानी मात्र विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्याउन नै समस्या भएको छ,’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानीलाई निवेदन लेखेको छु, नगर प्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।’