कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा — OSNepal

कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा

LC (KTM) May 31, 2021 0

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् । कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताउनुभयो ।

बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो । बस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ । गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताउनुभयो ।आजभोलि लगातार वर्षा भइरहेकाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति भएपछि गाउँपालिकाले पहल गर्नुभन्दा समयमै यसको समाधान गर्नुपर्ने सिंहले बताउनुभयो । “कारङ्गा गाउँको बस्तीमाथि जताततै भिरालो र भिर भएकाले जमीन भासिएको छ र ढुङ्गा खस्ने भएको छ”, वडाध्यक्ष गुमान बुढाले भन्नुभयो ।

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर _ स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरी ल्याइएको कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो ।

यसअघि जिल्ला अस्पतालमा तीनवटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिनुभयो । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर