काठमाडौं, पुस १६- आफूमाथि वा अरूमाथि कुनै पनि प्रकारको छाप लगाउने काम नगरौँ, किनकि जीवन यति धेरै रूपहरूमा प्रकट भएको छ । तपाईंले त्यसलाई सम्मान गर्नुपर्छ अनि आफूले सकेको उत्तम गर्नुपर्छ । आज बिहान तपाईंले खानुभएको भात वा रोटी, हामी हिँड्ने यही माटोबाट आएको हो अनि त्यो खानाबाट हड्डी र मासुको रूपमा तपाईं बनेको छ । यो वास्तवमा चमत्कार हो । यदि जटिल प्रक्रियालाई हामीले दुर्भाग्यवश कम आँकलन गरेका छौँ । यो प्रक्रियामा कहिलेकाहीँ केही कुराहरू हामीले सोचे जस्तो भइदिँदैन ।
त्यसैले, आफूलाई कहिल्यै अपाङ्ग नभन्नुहोस् । तपाईं एक किसिमको हुनुहुन्छ, म अर्को किसिमको छु । कुनै पनि व्यक्तिले आफूसँग उत्तम शरीर वा उत्तम मन छ भनेर दाबी गर्न सक्दैन । म एउटा रूपमा अपाङ्ग छु, तपाईं अर्को रूपमा अपाङ्ग हुनुहुन्छ । यदि हामीले आफूलाई अरूसँग तुलना गरÞ्यौँ भने, हामी सबैजना कुनै न कुनै रूपमा अपाङ्ग छौँ ।
तपाईंका हड्डीहरू टुक्रिन्छन्, जुन एकदमै पीडादायी र दुर्भाग्यपूर्ण छ । तर, सामान्य ठानिएका अधिकांश मानिसहरू हरेक दिन आफ्नो दिमाग टुक्रयाइरहेका छन् । उनीहरू यसलाई तनाव, चिन्ता, चिढचिढाहट जस्ता थुप्रै नामहरू दिन्छन्, तर वास्तवमा उनीहरू कुनै न कुनै रूपमा आफ्नो दिमाग अलग–थलग बनाइरहेका छन् ।
यो भौतिक शरीर यान्त्रिक प्रक्रिया हो । हामीसँग पनि कहिलेकाहीँ केही कुराहरू गलत भइदिन्छन् । यो सामान्य रूपमा जन्मिएर पछि गलत भइदिन सक्छ वा गर्भमै निर्माणको प्रक्रियामा केही कुराहरू गलत हुन सक्छन् । यसको त्यस व्यक्तिसँग कुनै सम्बन्ध हुँदैन । यसको सम्बन्ध अरू थुप्रै पक्षहरूसँग हुन्छ, किनकि यो प्रक्रिया यति जटिल छ कि कहिलेकाहीँ केही कुराहरू गलत हुन सक्छन् ।
तर, त्यो कुराले तपाईं कसरी बाँच्नुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहुँदैन । हामी भौतिक रूपमा कसरी बाँच्छाँ भन्ने कुरा थुप्रै चिजहरूबाट निर्धारित हुन सक्दछ । तर, हामी आफूभित्र कसरी बाँच्दछौँ भन्ने कुरा हामीबाहेक अरू कसैले पनि तय गर्न सक्दैनन् । म आफूभित्र कसरी बाँच्ने भन्ने कुरा अरू कसैले पनि निर्णय गर्न सक्दैनन् । त्यस अर्थमा हेर्दा कोही पनि अपाङ्ग छैनन् ।
शारीरिक र मानसिक पक्षहरूभन्दा पर सबै जीवन एउटै हुन् । यसलाई बुझाउनको लागि दुर्भाग्यवश हामीले यस्तो शब्द प्रयोग गर्नुपर्ने हुन्छ, जुन अहिलेको समयमा असाध्यै अपभ्रंश भएको छ— त्यो शब्द हो, आध्यात्मिकता । आध्यात्मिक प्रक्रिया भनेको माथि हेर्ने वा तल हेर्ने होइन । आध्यात्मिकता, आफूभित्र फर्किने अनि हाम्रो शरीर र मनको संरचनाहरूभन्दा परको आयामलाई स्पर्श गर्ने बारेमा हो । यो अवस्थामा, तपाईं, म र अरू बिच कुनै भिन्नता हुँदैन ।
यसैकारण, आध्यात्मिकता एकदमै महत्त्वपूर्ण छ । हामीले समानताको बारेमा चाहे जतिसुकै बहस गरे तापनि, जब हामी शरीर र मनलाई अगाडि राखेर कुरा गर्छौँ, त्यहाँ कुनै समानता हुन सक्दैन । तर, हामीले शरीर र मनबाट पर गएर जीवनको यो आयामलाई अगाडि ल्यायौँ भने, सबैथोक एउटै हो ।
यदि मानिसहरूमा यो अनुभव हुन सक्यो भने, तपाईंले यहाँ असाध्यै सानदार समावेशी अस्तित्व पाउनुहुनेछ । कसेले के क्षमता लिएर आएको छ भन्ने कुराले फरक पार्दैन, हरेक जीवनको स्थान हुनेछ । तर यतिखेर, शारीरिक र मानसिक क्षमताहरूको आधारमा हामीहरू मापक तय गरिरहेका छौँ, “ यो राम्रो स्तरको हो अनि यो कम स्तरको हो ।“ यस्तो नगर्नुहोस् ।
के तपाईं यो भन्न सक्नुहुन्छ कि गाँजर वा फट्याङ्ग्राको जीवन तपाईंको तुलनामा कम छ ? तिनीहरू तपाईंबिना निकै आरामपूर्वक बाँच्न सक्छन्, तर तपाईं तीबिना बाँच्न सक्नुहुन्न । प्रकृतिले हामीलाई यो सम्भावना दिएकी छिन् कि हामीसँग यो बुद्धि छ, जसद्वारा हामी अरू सबै जीवनहरूभन्दा माथि उठ्न सक्छौँ । जब तपाईं एउटा निश्चित स्तरसम्म माथि उठ्नुहुन्छ, यदि तपाईं मूर्ख हो भने, तपाईंले यो अरूमाथि दमन गर्ने समय हो भनेर सोच्नुहुन्छ । होइन । जब तपाईं यस्तो स्तरमा पुग्नुहुन्छ, जहाँ बाँकी जीवनहरूले जानी–नजानी तपाईंतर्फ कुनै आशा लिएर हेरिरहेका हुन्छन्, यो सबैलाई समावेश गरेर घुलमिल हुने समय हो । यो अरूमाथि प्रभुत्व जमाउने वा दमन गर्ने समय होइन, किनकि जब तपाईं दमन गर्नुहुन्छ, तपाईं सबैथोकबाट अलग्ग रहनुहुन्छ ।
मानिसहरूमा समावेशको भाव तबमात्रै आउनेछ, जब कम्तिमा पनि अलिकति भित्री अनुभव हुनेछ, जुन शरीर र मनभन्दा पर छ । तपाईंको शरीर फरक छ, मेरो शरीर फरक छ । हामी जीवित हुँदासम्म, हामीलाई ती फरक–फरक लाग्नेछ । जब हामीलाई जलाइन्छ, तब हामीलाई थाहा हुन्छ कि सबैथोक त्यही माटो हो । मेरो मन भिन्न छ, तपाईंको मन भिन्न छ । तर, यदि तपाईंले जीवनको स्तरमा हेर्नुभयो भने, मेरो जीवन र तपाईंको जीवन भन्ने त्यस्तो केही हुँदैन । यो जीवित ब्रह्माण्ड हो । प्रश्न यत्ति हो कि यसमा तपाईंले कति जीवन आफूमा समाहित गर्नुभयो ? यही कुराले मात्रै महत्त्व राख्दछ— तपाईंको शरीरको वा दिमागको साइजले होइन । तपाईं कति विशाल जीवन बाँच्नुहुन्छ भन्ने कुरा यसमै निभर्र हुन्छ कि तपाईंले कति जीवनलाई आफूमा समावेश गर्नुभयो ?
यदि तपाईं आफूसँग अहिले भएको भन्दा बढी जीवन समावेश गर्न चाहनुहुन्छ भने, आफ्नो छुट्टै अस्तित्वको रूपमा बनाउनु भएका सीमाहरू अनि बन्धनहरूलाई तपाईंले खुला बनाउनुपर्छ । तपाईंको पृथक अस्तित्व बिस्तारै यस्तो पिँजडा बनेको छ, जसलाई कसैले भत्काउन सक्दैनन् । यदि तपाईंले आफ्नो पृथक अस्तित्वबाट बनेका सीमाहरू मेटाउनुभयो भने, यसलाई हामी योग भन्दछौँ ।
योग भनेको शरीर बङ्ग्याउनु होइन, साथै टाउकोले टेकेर उभिनु होइन । योग अर्थात् मिलन वा एक हुनु । मिलन भन्नाले आफ्नो पृथक अस्तित्वबाट निर्मित सीमाहरूलाई सचेतन रूपमा हटाउनू । अब, तपाईंभित्र जीवन विशाल रूपमा भइरहेको हुन्छ, जुन जो–कसैको कल्पनाभन्दा पर छ । जीवन विशाल स्तरमा घटित भएको हुनाले स्वाभाविक रूपमा सबैथोकले तपाईंलाई सहायता गर्नेछन् ।
–सदगुरुको प्रवचनमा आधारित