सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट निर्माणको काम शुरु नहुँदै म्याद सकिँदै — OSNepal

सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट निर्माणको काम शुरु नहुँदै म्याद सकिँदै

LC (KTM) May 31, 2021 0

दार्चुला, १७ जेठ- दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो ।व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो । चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो । छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य शुरु नै गरेको छैन ।

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ । छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै शुरु हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताउनुहुन्छ । “पुसदेखि चैत÷वैशाखसम्मै हिमपात भयो । हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैन”, निर्माण व्यवसायी बमले भन्नुभयो, “अहिले मौसम ठिक भएको छ ।”
दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ । यो क्षेत्रमा निकै चिसो हुने गर्दछ । यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ । सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो ।

“अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैन”, निर्माण व्यवसायी बम भन्नुहुन्छ, “विकट ठाउँ छ । सामान ढुवानी गर्न लकडाउन छ । मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन । नेपालतिर बाटोको अवस्था थाहा नै छ ।” सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि रु एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ । गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ । व्यास–२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रैमास व्यासमा राखेको हो । अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ ।जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै:- मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ । आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो । भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ । सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो ।

भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ । भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो ।अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ । भवन निर्माणका लागि एङ्गल राख्ने काम शुरु गरिएको निर्माण व्यवसायी बमले बताउनुभयो । “भवन निर्माण शुरु गरेका छौँ, असारभित्रै काम सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले निषेधाज्ञाका कारण समयमै सममान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर