राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरिदिएका थिए : लिङदेन — OSNepal

राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरिदिएका थिए : लिङदेन

LC (KTM) December 29, 2021 0

काठमाडौं १४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरिदिएको बताएका छन् ।

बुधबार स्वर्गीय पुर्व राजा विरेन्द्रको स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यक्ता भएको बताएका उनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै पाल पनि विलय भएर जाने खतरा रहेको बताएका छन् ।

‘आज पनि म जहाँ जाँदा पनि राजसंस्थाको कुरा गर्दा जनतालाई भन्ने गरेको छु –२०३२ सालसम्म हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यसबेला भन्दा अझ मैले अहिले बढि बुझ्छु । किन, त्यसबेला त थोरै थोरै बुझे । ए, राजा हट्यो, सिक्किम पनि सकियो । एउटा देश पनि समाप्त भो भन्ने मात्रै थियो ।

‘तर अहिले यसो हेर्छु । सिक्किम भन्ने नाम पनि छ । त्यहाँको भूगोल पनि छ । त्यहाँको माटो कसैले बोकेर लगेको छैन । सिक्किम सिक्किमै छ । तर सिक्किम भन्ने देश त छैन ।’ उनले भने ।

राजा वीरेन्द्र विदेशीहरूसँग नझुकेपछि देश जोगिएको बताएका उनले राजा विरेन्द्रको खुलेरै प्रशंसा गरे ।

‘२०४५/४६ सालताका जुन नाकाबन्दी थियो ।त्यसबेला भारतबाट तत्कालीन संस्थापनले के–के सर्त लिएर आएको थियो । त्यसबेला राजाले ती सर्तहरू मानेको भए आज पनि नेपालमा राजसंस्था पनि रहि राख्थ्यो होला । त्यो नाम मात्रको हुन्थ्यो होला ।’

‘ तर देशहित विरुद्धका तिम्रा सम्झौताहरु, सर्तहरू मान्नुभन्दा देशका राजनीतिक दलहरूसँग सम्झौता गर्छु, तिमीसँग झुक्नुभन्दा मेरो जनतासँग झुक्छु भनेर जब राजा वीरेन्द्रले दलहरूसँग सम्झौता गरेर संवैधानिक राजा बने । त्यसबाट अरुभन्दा राजा देशभक्त हुन्छन् भन्ने कुराचाँही प्रमाणित भयो भन्ने लाग्छ मलाई ।’ कार्यक्रममा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर