कैदी फरार प्रकरण : परियारलाई जिम्मेवारी मुक्तपछि पक्राउ पुर्जी जारी — OSNepal

कैदी फरार प्रकरण : परियारलाई जिम्मेवारी मुक्तपछि पक्राउ पुर्जी जारी

LC (KTM) December 27, 2021 0

दाङ, १२ पुस-दाङ प्रहरीले कारागार घोराहीका प्रमुख युवराज परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । कारागारका कैदी भगाउन भूमिका खेलेको आरोपमा परियारलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले अनुसन्धानलाई कडाइका रूपमा लिइएको र केही व्यक्तिलाई नियन्त्रणमै लिएर अनुसन्धान थालिएको बताए । उनले कारागार प्रमुख परियार पनि अनुसन्धानको घेरामा रहेको बताए । दाङ प्रहरी प्रवक्ता, डिएसपी मुकुन्द रिजालको अनुसन्धान टोलीले कारागार प्रमुख परियारलाई अनुसन्धानको घेरामा राखेको छ । यसका साथै दुई जना युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेर कैदी घटनाबारे छानबिन गरिरहेको छ ।

कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई प्रहरीले सोमबार पक्राउ पुर्जी जारी गरेको जनाएको छ । कारागार प्रमुख (जेलर) परियारको समेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीको भनाइछ । जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए ।

प्रेमिहत्या अभियोगमा जन्मकैदको फैसला भोगिरहेको यामराज परियार बिहीबार बिहान कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीसँगै अस्पताल गएका थिए । उनले सात वर्ष कैदी भोगिसकेका थिए । आफ्नै मोटरसाइकलबाट कारागारका नाइके यामराज परियारलाई चौधरीले उपचार गर्न लगेका थिए । त्यसपछि एउटा रेष्टुरेन्टमा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएको भनिएको छ ।

उनी घोराही कारागारका नाइके पनि हुन् । नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न दुई युवती र अन्य एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो । तुलसीपुर कारागारका जेलर अमर बहादुर वलीलाई अहिले परियारको जिम्मेवारी मुक्त गरेर घोराही कारागारको जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर